शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

मंगलबार, मंसिर २ २०८२

झापा । मोरङबाट झापातिर प्रवेश गरेको हात्तीको करिब ३० को बथान आइतबार रतुवामाई जङ्गल क्षेत्रमा आइपुगेपछि फेरि छिन्नभिन्न भएर १५ हात्ती सोमबार मोरङतिरै फर्किएको डिभिजन वन कार्यालय झापाले जनाएको छ।

कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार बथानमा धेरै छावा पनि रहेका छन्। सुन्दरहरैँचाको कानेपोखरी क्षेत्रबाट पूर्वतर्फ लागेको हात्तीको झुण्ड झापाको बाहुनडाँगी हुँदै भारत फर्किने अपेक्षा गरिएको थियो। दिनभरि विश्राम गर्ने र राति मात्रै सार्ने ती हात्ती सोमबार भने शिवसताक्षीको रतुवामाई तथा दमकको हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा रोकिएको कार्यालयले जनाएको छ।

दुई वर्षअघि झापा हुँदै नेपाल प्रवेश गरेका ५०–६० हात्तीमध्ये ३० जति डेढ महिना विचरणपछि भारततर्फ फर्किएका थिए भने केही मोरङ–सुनसरीको वन क्षेत्रमा बसेका थिए।

हात्तीको गतिविधि बढेपछि वन कार्यालय र स्थानीय तहले जनधनको क्षति हुन नदिन सतर्कता अपनाएका छन्। सर्वसाधारणलाई सचेत गराउँदै गस्ती टोली परिचालन गरिएको छ। भारतको आसामदेखि कोशी टप्पुसम्म हात्तीको नियमित ओहोरदोहोर रहने गरेको छ। गर्भिणी हात्ती नेपालमा सुरक्षितरूपमा बालबच्चा हुर्काएर मात्रै फर्किने हुँदा हालको बथानमा पनि धेरै छावा रहेको वन कार्यालयले जनाएको छ।