काठमाडौँ । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन दिवङ्गत पितृको सद्गतिको कामनासहित मनाइने बाला चतुर्दशी मेला आजदेखि पशुपति क्षेत्रमा सुरु हुँदै छ। बिहानैदेखि पितृका नाममा दीपदान र पूजाअर्चनाका लागि भक्तजनहरूको भीड लाग्न थालिसकेको छ।
त्रयोदशीको साँझ भक्तजनले पितृका नाममा अखण्ड दीपदान गरी रातभर जाग्राम बस्ने चलन छ। भोलिपल्ट चतुर्दशीको बिहान पितृको शान्तिको कामना गर्दै शतबीज (हाल सप्तबीज) छर्ने परम्परा अनुसार मृगस्थली, १०८ शिवलिङ्ग परिसर, कैलाश, आर्यघाट, गौरीघाट, गुह्येश्वरी लगायत स्थानमा भीड लाग्नेछ।
जाडो मौसमलाई ध्यानमा राख्दै पाललगायतका व्यवस्थाहरू मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार हेमाद्रि धर्मग्रन्थमा ‘शतबीज’ भन्नाले धानका सय दाना चढाउनुपर्ने उल्लेख छ। एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेको बराबरको पुण्य प्राप्त हुने र दिवङ्गत आत्माले मुक्ति पाउने विश्वास छ।
बाला चतुर्दशीसँग जोडिएका पुराणिक धार्मिक कथाहरू पनि प्रचलित छन्—मृगस्थलीमा भगवान् शिव मृगरूप लिएर विहार गर्नुभएको कथा तथा ‘बालासुर’ नामक राक्षससम्बन्धी किम्वदन्ती जसअनुसार दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने परम्पराको प्रारम्भ भएको मानिन्छ।
शास्त्रीय नियमअनुसार, पिता–माताका दिवङ्गत भएको एक वर्ष नपुगेका व्यक्तिले भने दीपदान वा शतबीज छर्न नहुने उल्लेख छ। यस अवसरमा पशुपति आउने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने पनि धर्मशास्त्रमा उल्लेख छ।