शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं मध्यराति पक्राउ

मंगलबार, मंसिर २ २०८२

काठमाडाैं ।  मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। सोमबार राति भक्तपुरस्थित निवासबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

आन्दोलनको नाममा अशान्ति मच्चाउन खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिएका छन्। अहिले प्रसाईंलाई परिसरकै हिरासतमा राखिएको छ।

नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंले आन्दोलनमार्फत देश ठप्प पार्ने चेतावनी दिँदै आएका थिए। सोमबार नै पत्रकार सम्मेलन गरी उनले प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र वार्ता बस्ने बताउँदै गृहमन्त्रीसँग वार्तालाई अस्वीकार गरेका थिए।

कात्तिक २६ मा उनका सहयोगीहरूले भने गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए।

किराँत, बौद्धसहितको सनातन हिन्दु राष्ट्र घोषणा, गरिबका ऋण मिनाहा लगायत २७ बुँदे माग पूरा नभए मंसिर ७ देखि पूर्व–पश्चिम महेन्द्र राजमार्ग केन्द्रित आन्दोलन गर्ने प्रसाईंको चेतावनी थियो।

यसअघि पनि १५ चैतको हिंसात्मक आन्दोलनपछि उनी पक्राउ परेका थिए र पछि अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए।