काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ भए पनि जेन–जी आन्दोलनमा घुसपैठ भएको भन्दै दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
राष्ट्रिय कर दिवसको कार्यक्रममा बोल्दै ढकालले निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पारित गरेको सुशासन, भ्रष्टाचार उन्मूलन र पारदर्शिता सम्बन्धी मस्यौदाको स्मरण गराउँदै, आन्दोलनमा घुसपैठ गर्नेहरूमाथि सरकारले कारबाही नगरे व्यवसायी र आम नागरिकको मनोबल खस्किने चेतावनी दिए ।
उनले मुलुकमा निजी क्षेत्रको सम्पत्ति संरक्षण गर्न नसकिए लगानी घट्ने र लगानीकर्ता असन्तुष्ट हुने अवस्था सिर्जना हुने बताए।
यसैबीच, अर्थ मन्त्रालयले फेसलेस हिसाब प्रणाली लागू गर्दै अनलाइनबाट भन्सार मूल्यांकन र करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा ढकालले प्रशंसा पनि गरे।
अध्यक्ष ढकालले बैंकमा ११ खर्ब रुपैयाँभन्दा बढी रकम थुप्रिएको तर लगानीयोग्य परियोजनामा पर्याप्त लगानी नभएको भन्दै लगानी वातावरण सुधार गर्न सरकारसँग माग गरे। साथै, धितोपत्र बोर्डले लामो समयदेखि जलविद्युत आयोजनाहरूलाई जारी नगरेकोमा असन्तुष्टी व्यक्त गर्दै, बोर्डमा देखिएका समस्या तुरुन्त हटाउन अर्थमन्त्रीलाई आग्रह गरे ।