शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रुग्ण सडक ठेक्का तोड्ने कार्य सुरु, २५ आयोजनाको सम्झौता रद्द

सोमबार, मंसिर १ २०८२

काठमाडौं । सडक निर्माणका लागि सम्झौता गरेर लामो समय काम नगरेका २५ रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको निर्देशनमा सडक डिभिजन कार्यालय काठमाडौंले सोमबार उक्त ठेक्का रद्द गर्ने सूचना जारी गरेको छ। ठेक्का रद्द हुने आयोजनाहरू आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० सम्म सम्झौता भएका हुन्।

मन्त्री घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्न मातहतका निकायलाई निर्देशन दिएका थिए। त्यसपछि सडक विभागले रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको थियो।

सडक डिभिजन कार्यालयले गत ११ कात्तिकमा सम्बन्धित २५ निर्माण व्यवसायीसँग स्पष्टीकरण माग्दा चित्तबुझ्दो जवाफ नआएपछि सार्वजनिक खरिद ऐन बमोजिम ठेक्का रद्द गरिएको प्रमुख सुवोध देवकोटाले बताए।

कानूनी व्यवस्था अनुसार ठेक्का सम्झौता रद्द भएपछि कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत, धरौटी रकम, पेश्की जमानत र पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्ने तथा बाँकी काम पूरा गर्न लाग्ने खर्च सरकारी सम्पत्तिबाट कट्टा गर्ने कार्य अगाडि बढाइनेछ। निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

सडक ठेक्का म्याद थप भए पनि निर्माण कार्य अधुरो रहँदा र निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा अनुपस्थित रहँदा सम्झौता रद्द गरिएको उल्लेख गरिएको छ।