शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

देशभरका जिल्लामा एमालेको शक्ति प्रदर्शन, उल्लेख्य जनसहभागिता

आइतबार, कार्तिक ३० २०८२

काठमाडौँ । शनिबार देशभरका जिल्लामा एमालेले जनसहभागितासहित आफ्नो शक्ति प्रदर्शन गरेको छ। एमालेले काठमाडौं उपत्यकाबाहेकका जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको हाे ।

पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत शनिबार जिल्लास्तरमा जनसभा गरेको बताए । जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका गिए ।

उनका अनुसार ती जनसभामा महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गरे ।

यसैगरी रुपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको विर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गरेका थिए।

एमालेले भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

सभामा सम्बोधन गर्ने नेताहरूले अहिलेको राजनीतिक संकटको निकासका लागि प्रतिनिधिसभाको पुनःस्थापना नै एकमात्र विकल्प रहेको बताए । सरकार चुनाव गराउने दिशामा नरहेको तथा चुनावको वातावरण नरहेकोले संसद् पुनःस्थापना गरेर सर्वपक्षीय सरकार गठनमार्फत चुनावमा जानु पर्ने नेताहरूको भनाइ छ ।

मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उनले बताए ।

यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला  सम्पन्न गरिसकेको छ ।