काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेकाहरूले जेन-जीका नाममा ज्ञापनपत्र मस्यौदा गरेर पेश गर्न लगाइरहेको आरोप लगाएका छन्।
गुण्डुस्थित निवासमा प्रेस चौतारीका नेतासँगको छलफलमा ओलीले भने, “सरकारको सुशासन भनेकै मलाई र रमेश लेखकलाई गिरफ्तार गर्ने मात्र हो भन्ने बुझिएको छ। विभिन्न नामका जेन-जी समूह खडा गरेर सरकारले तमासा देखाइरहेको छ।” उनले जेन-जीका नाममा तमासा चलाइएको, मस्यौदा तयार पार्ने, डेलिगेसन बोलाउने, सन्चारकर्मी अगाडि दबाब दिने लगायतका गतिविधिहरू सरकारद्वारा व्यवस्थित गरिएको आरोप लगाए।
ओलीले प्रतिनिधिसभा अविलम्ब पुनःस्थापना हुनुपर्ने भन्दै असंवैधानिक ढंगले अनधिकृत व्यक्तिको सिफारिसमा विघटन भएको बताए। उनले सरकारले जेन-जी भनेर जम्मा गरिएका १०–२० युवालाई धम्क्याउन लगाएको र उनीहरूमा आवेश र उत्तेजना मात्रै रहेको पनि उल्लेख गरे।
पूर्वप्रधानमन्त्री ओलीले निवर्तमान आइजिपी चन्द्रकुबेर खापुङलाई स्थानहद तोकिएको विषयमा पनि आपत्ति जनाउँदै, “अवकाशलगत्तै प्रहरी प्रमुखलाई तर्साउन पासपोर्ट रोक्का र स्थानहदको प्रचार गरिएको छ। यो ठूलो मजाक र तमासा हो,” भने।
ओलीले आफ्नो उद्देश्य सत्य कुरा भन्न र देश निर्माणतर्फ अघि बढिरहनु रहेको बताउँदै, “कसैले यसलाई दम्भ भन्छ भने घट्नेवाला छैन, देश बनाउने उद्देश्यमा कमी आउने छैन,” भनी जवाफ दिए।