बाँके । बाँकेमा निर्माणाधीन हुलाकी सडक पछिल्लो समय पूर्वपश्चिम राजमार्गको सहज वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको छ। राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोकदेखि अगैया जोड्ने यो मार्गमा सवारीसाधनको आवतजावत उल्लेख्य रूपमा बढेको देखिन्छ।
विशेषगरी नेपालगञ्ज–दाङ रुटमा यात्रा गर्नेहरुले कोहलपुर हुँदै राजमार्ग पुग्नुभन्दा हुलाकी सडक छोटो पर्ने भएकाले यसलाई प्राथमिकता दिन थालेका छन्। भेरी बस व्यवसायी सङ्घ नेपालगञ्जका अध्यक्ष जुनबहादुर थापाका अनुसार कोहलपुर–अगैया खण्डमा बाँके राष्ट्रिय निकुञ्जको टाइम कार्ड पालना गर्नुपर्ने बाध्यताले पनि हुलाकी मार्गमा ट्राफिक चाप बढाएको छ।
हुलाकी सडक निर्माणपछि राप्तीपारिका बिनौना र बैजापुरवासीको दैनिक आवतजावत सहज भएको छ। फत्तेपुर–बैजापुर खण्ड कालोपत्र भएपछि राप्तीसोनारी गाउँपालिकाका बासिन्दा सहज रूपमा सदरमुकाम नेपालगञ्ज जान सक्ने भएका छन्। विद्यालयका प्रधानाध्यापक चेतबहादुर विष्टका अनुसार राप्तीसोनारी–१ देखि ६ सम्मका स्थानीयलाई नेपालगञ्ज तथा अगैया केन्द्रीय पहुँचमा मद्दत मिलेको छ।
सडक कालोपत्रसँगै विभिन्न स्थानमा पुल र कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेपछि गाउँपालिका कार्यालय आउने–जानेमा पनि सहजता बढेको वडाध्यक्ष रामलखन थारूले बताए। अगैया–बैजापुर–बिनौना–फत्तेपुर हुँदै सोझै नेपालगञ्ज पुग्न सकिने भएकाले यो वैकल्पिक मार्ग छोटो र समय बचत हुने भएको छ।
राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पक्की पुल हुलाकी सडकलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। हाल साँघुरो पुलका कारण सवारीसाधन पालो कुर्नुपर्ने बाध्यता हट्नेछ। ११ मिटर चौडाइको नयाँ पुल निर्माणमा ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालयका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए।
उनका अनुसार पुल निर्माण सम्पन्न भएपछि नेपालगञ्जबाट दाङ हुँदै पूर्वतर्फ जाने यात्रुका लागि यो मार्ग अझ सहज र आकर्षक वैकल्पिक विकल्प बन्नेछ।