जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई आन्दोलनकारीबाट सुरक्षा चुनौती रहेको बताएका छन्। शनिबार प्रदेशवासीका नाममा सम्बोधन गर्दै उनले सुरक्षा निकायले असुरक्षा मूल्यांकन गरेको जानकारी दिए।
मुख्यमन्त्री यादवका अनुसार सुरक्षा निकायले विशेष कार्यक्रमहरू सीमित गर्न तथा संवेदनशील भएर गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ। उनले प्रश्न गर्दै भने, “सुरक्षा निकायले संवेदनशील हुनू भनेर रिपोर्टिङ गर्छ, त्यसपछि यी विषय कसलाई भन्ने ?”
यादवले आफू सुरक्षित नभए प्रदेशका अन्य दलका सांसदहरू पनि समान जोखिममा पर्ने उल्लेख गरे। “सुरक्षा थ्रेट मलाई अरू कोबाट हुन्छ ? जनताबाट त हुँदैन, आन्दोलनकारीबाटै हुन्छ,” उनले भने। “मुख्यमन्त्री सुरक्षित छैन भने अरू माननीयहरू कसरी सुरक्षित हुन सक्छन् ?”
उनको भनाइ अनुसार प्रदेशको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आवश्यक ध्यान नदिए व्यापक राजनीतिक नेतृत्व नै जोखिममा पर्ने सम्भावना रहेको छ।