शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

फागुन २१ को निर्वाचनका लागि वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

शनिबार, कार्तिक २९ २०८२

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचन तयसवेरी हुने विश्वास व्यक्त गरेका छन्। दक्षिण कोरिया भ्रमणका क्रममा नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री खरेलले निर्वाचनका लागि आवश्यक सुरक्षा तथा राजनीतिक वातावरण तयार भइसकेको बताए।

मन्त्री खरेलका अनुसार सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुने मनसायमा छन् । केही दलले सुरक्षा पक्षप्रति चासो देखाए पनि निर्वाचनमा बहिष्कार गर्ने अवस्था नरहेको उनले स्पष्ट पारे। जेनजी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी र नवप्रवर्द्धनसँगै समयमै निर्वाचन गराउनु रहेको उनले बताए।

सञ्चारमन्त्रीले एआई र डिजिटल रूपान्तरणलाई नेपालको भविष्यका प्रमुख आधारका रूपमा उल्लेख गरे। कोरियाबाट प्राप्त ज्ञान, सीप र प्रविधि नेपालमा उपयोगी हुने बताउँदै उनले नेपालले हालै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको प्रसङ्ग पनि जोड दिए। एआई र डिजिटल क्षेत्र विस्तारका लागि कोरिया सरकारसँग सहयोग अपेक्षा गरिएको उनको भनाइ छ।

विदेशमा रहेका नेपालीको देशप्रतिको भावना र सुधारको चाहनालाई प्रशंसनीय बताउँदै मन्त्री खरेलले सरकार पाँच महिनाको अवधिमा व्यवहारिक सुधारका थितिहरू बसाल्ने प्रतिवद्धता व्यक्त गरे। विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था गर्न कानुनी प्रक्रिया अघि बढाएको, आवश्यक परे अध्यादेशमार्फत पनि सुविधा दिने आश्वासन उनले दिए।

मन्त्री खरेलले नेपाल एयरलाइन्सको दक्षिण कोरिया–नेपाल सिधा उडानका लागि पहल गर्ने बताए। कार्यक्रममा सहभागीहरूले ऊर्जा, पर्यटनलगायत क्षेत्रमा लगानी आकर्षणका साथै जेनजी आन्दोलनका भावना अनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न सुझाव दिए।

दक्षिण कोरियामा रोजगार, व्यापार र अध्ययनका क्रममा झण्डै एक लाख नेपाली रहेको बताइन्छ। ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागिता जनाउन मन्त्री खरेल कात्तिक २५ गतेदेखि कोरियामा छन्। कोरियाको भ्रमण सकेर उनी आज साँझ स्वदेश फर्कने कार्यक्रममा छन्।