शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गृहमन्त्री ओमप्रकाश अर्याल एमाले पो हो कि जस्तो लाग्न थाल्यो : सुदन गुरुङ

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौँ । जेनजी अभियानका नेता सुदन गुरुङले जेनजीका माग पूरा गर्ने जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताएका छन्। गुरुङले भनेका छन् कि माग पूरा नगरी चुनाव सम्भव छैन।

नेपाल स्काउटको जग्गामा खड्का ल्याण्ड प्रा.लि.ले बनाएको संरचना भत्काउन पुगेका गुरुङले गृहमन्त्री अर्यालमाथि शंका व्यक्त गर्दै भने कि उनी जङ्गी अड्डामा पनि सँगै थिए र राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर चिनाइएको दाबी गरिएको थियो।

गुरुङले भने, “उहाँ हामीसँग जङ्गी अड्डामा पनि सँगै हुनुहुन्थ्यो, राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर चिनाइएको थियो। माग पूरा हुन्छ कि हुँदैन, उहाँलाई थाहा छ। गिरिबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे। यी सबै माग पूरा भएन भने धोका दिनुभएको हो, अहिले आएर चुनाव–चुनाव भन्नुहुन्छ।”

उनले गृहमन्त्रीमाथि आक्रोश पोख्दै जेनजीका माग सम्बोधन नगरी चुनावको एजेन्डामा मात्र लागिरहेको आरोप समेत लगाएका छन्।

गुरुङले अर्याललाई एमाले जस्तो भएको शंका समेत व्यक्त गर्दै भने, “मलाई त कहिलेकाहीँ गृहमन्त्री त एमाले पो हो कि जस्तो लाग्छ। उहाँको एजेन्डा चुनाव मात्र रहेछ, हाम्रो एजेन्डा भनेको देशलाई न्याय दिनु हो।”