शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

नक्कली प्रमाणपत्र मुद्दा: शिक्षक निरौलामाथि आरोपपत्र दायर

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा, दमक नगरपालिका वडा नं ५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलामाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा बुधबार आरोपपत्र दायर गरिएको छ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार, शिक्षक देवी निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको प्रमाणपत्र प्राप्त गरेको भनी नक्कली र झुठा कागजात पेश गरी २०७५ सालमा विद्यालयमा स्थायी नियुक्ति लिएको पाइएको छ।

सोही समयमा उनले प्राथमिक तह तृतीय श्रेणी शिक्षकको पदमा कार्यरत रही तलब, भत्ता, ओहोदा र सरकारी सेवा सुविधासमेत प्राप्त गरेको देखिन्छ ।

यो घटनाप्रति अनुसन्धान गर्दा उनीसँग सम्बन्धित सम्पूर्ण शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएको छ। सोही आधारमा साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीका लागि विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

अदालतले आवश्यक कारबाहीका लागि प्राविधिक अनुसन्धान र प्रमाणसहित मुद्दा अघि बढाउने तयारी गरेको छ।