काठमाडौँ । तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय लक्ष्मण पन्त र ओम शर्मासहित १० नेताले पार्टी छाडेर प्रगतिशील राष्ट्रिय अभियानमा सक्रिय भएको घोषणा गरेका छन्।
संयुक्त विज्ञप्ति मार्फत उनीहरूले जनार्दन शर्माको अभियानमा सहभागी हुने जानकारी दिएका हुन्। पत्रकारसमेत रहेका शर्माले आफ्नो नयाँ यात्रालाई जनतालाई आर्थिक अभियानसँग जोड्ने र देशको राजनीतिक प्रणालीमा पुनर्संरचना गर्ने लक्ष्यमा केन्द्रित रहने बताएका छन्।
बुधबार राति फेसबुक लाइभमार्फत बोल्दै शर्मा भने, “परम्परागत सत्ता केन्द्रित राजनीतिले जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सकेको छैन। त्यसैले हामी नयाँ बाटोमा हिँड्ने निर्णयमा छौँ।”
जारी विज्ञप्तिमा शर्मा र उनका साथीहरूले पार्टी परित्याग गरेर प्रगतिशील अभियान सुरु गरेको घोषणा गरेका छन्। शर्मा अनुसार, यस अभियानको मुख्य उद्देश्य देशलाई आर्थिक समृद्धिको दिशामा लैजानु र राजनीतिक विकृतिहरूलाई अन्त्य गर्नु हो।
शर्माले भने, “हामीले वर्षौँ सत्ता र सरकारको खेल मात्रै देख्यौँ, तर जनताका आधारभूत समस्या जस्ताको तस्तै रहे। अब हाम्रो सम्पूर्ण प्रयास जनतालाई उत्पादन र आर्थिक उपार्जनसँग जोड्ने र त्यसका लागि आवश्यक राजनीतिक वातावरण निर्माण गर्नेमा हुनेछ।”
उनीहरूले माओवादी केन्द्रप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “शान्ति प्रक्रियापछि पार्टीले शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता जनताको मुद्दा बिर्सेर सत्ताको मोहमा फसेको देख्यौँ। जनताका आशाहरू ओरालो लागेको देखेपछि हामीले यो निर्णय लिन बाध्य भयौँ।”
शर्माले आफ्नो अभियान कुनै पद वा सत्ता केन्द्रित नभई देश र जनताप्रतिको जिम्मेवारीबोधबाट प्रेरित भएको दाबी गर्दै, देश तथा विदेशमा रहेका युवा, बुद्धिजीवी र परिवर्तनकामीहरूलाई अभियानमा सहभागी हुन आह्वान गरे।
उनी भन्छन्, “अब थोत्रा पार्टीहरूको विकल्प खोज्ने बेला आएको छ। हामीले स्वदेशमै अवसर सिर्जना गर्ने र राजनीतिको फोहोर सफा गर्ने अठोट लिएका छौँ।”
ओम शर्मा ०४१ सालदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका व्यक्ती हुन् र उनले जनयुद्धदेखि सक्रिय पार्टी छाडेर नयाँ यात्रामा लागेको बताए।


