शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

संसद् पुनर्स्थापना, संविधान संशोधन र अर्लि इलेक्सन एमालेकाे रोडम्याप हो : उपमहासचिव ज्ञवाली

बिहिबार, कार्तिक २७ २०८२

दाङ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापना, संविधान संशोधन, जेन–जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन (पूर्वनिर्धारित आमनिर्वाचन) लाई पार्टीको मुख्य रोडम्याप रहेको बताएका छन्।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले भने,“संसद् पुनर्स्थापना, संविधान संशोधन, जेन–जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन नै एमालेको रोडम्याप हो। यथास्थितिमा हुने चुनावको कुनै औचित्य छैन।”

उनले थपे, “यथास्थितिमा हुने चुनाव शाहीकालमा भएका स्थानीय सरकारजस्तै हुनेछन्।”

ज्ञवालीले सरकारले चुनाव गराउने भनिए पनि चुनावका लागि आवश्यक वातावरण बनाउन असफल भएको आरोप लगाए।
उनका अनुसार, प्रधानमन्त्रीको “दलका नेताको अनुहार हेर्नु छैन” भन्ने अभिव्यक्ति नै चुनाव नचाहने मानसिकताको प्रमाण हो।

उपमहासचिव ज्ञवालीले देशको संविधानलाई ‘घाइते अवस्था’मा रहेको बताउँदै हालको सरकारले संविधानकै मान्यता नपाउने दाबी पनि गरे।

उनले भने, “अहिले संविधान घाइते अवस्थामा छ, लोकतन्त्र खतरा अवस्थामा छ। संविधानले नचिनेको सरकार र संविधानले अस्वीकार गरेका मन्त्री अहिले शासनमा छन्।”