शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जेनजीका माग पूरा नभइ निर्वाचन सम्भव छैनः सुदन गुरुङ

बिहिबार, कार्तिक २७ २०८२

काठमाडौं । जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजी समूहले राखेका मागहरू पूरा नभइकन निर्वाचन सम्भव नहुने बताएका छन्।

बिहीवार बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रा.लि.ले सञ्चालन गर्दै आएको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने क्रममा त्यहाँ उपस्थित रहँदा उनले यस्तो बताएका हुन्।

गुरुङले केही बाहेकका सबै जेन–जीहरू अहिले एकै ठाउँमा एकजुट रहेको दाबी गर्दै मागहरू पूरा हुनुपर्ने बताए। माग पूरा नभए फेरि आन्दोलन सुरु हुने चेतावनी दिँदै उनले यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताए।

उनका अनुसार, जेन–जीका हरेक वार्तामा गृहमन्त्रीको प्रत्यक्ष संलग्नता रहेको र माग पूरा हुने आश्वासन समेत गृहमन्त्रीले नै दिएको भए पनि हालसम्म त्यसअनुसार कुनै व्यवहारिक प्रगति नभएको बताए।

गुरुङले भने, “हामी सबै जेन–जीहरू एक ठाउँमा छौँ। केही तलमाथि हुनुहुन्छ, उहाँहरूलाई पनि बोलाउँछौँ। माग पूरा नभइकन कसरी चुनाव हुन्छ? यसको जिम्मा गृहमन्त्रीज्यूले लिनुपर्छ। उहाँ हामीसँग जंगी अड्डामा पनि सँगै हुनुहुन्थ्यो। राष्ट्रपति कार्यालयमा संविधानविद्हरूले मलाई चिनाएका थिए। माग पूरा हुन्छ, हुँदैन भन्ने उहाँहरूलाई थाहा थिएन र? अहिले आएर चुनावको कुरा गर्नु धोका हो।”

गुरुङले गृहमन्त्रीले जेन–जीका माग पूरा नगरी निर्वाचनको रटान मात्र लगाएको आरोप लगाउँदै यस्तो कदमले आफूहरूलाई धोका दिएको ठहर हुने टिप्पणी गरेका छन्।