शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकार बलियो भए नागरिक बलियो हुन्छन् : महासचिव पोखरेल

बुधबार, कार्तिक २६ २०८२

काभ्रेपलाञ्चोक  । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नागरिकलाई बलियो बनाउनका लागि सरकार पनि बलियो हुनुपर्ने बताएका छन् । मंगलबार बनेपामा एमाले नगर कमिटीद्वारा आयोजित नगरस्तरीय भेलामा उनले राज्य कमजोर हुँदा नागरिक पनि कमजोर हुने बताए ।

महासचिव पोखरेलले भने, “राज्य सक्षम र सबल भए नागरिक पनि बलियो हुन्छन्, यही मान्यतामा एमाले अघि बढिरहेको छ। राज्य कमजोर हुँदा राष्ट्रविरुद्धको षडयन्त्र सफल भएको देखियो, सरकारमा को थियो भन्ने कुरा गौण हुन्छ, त्यसैले राज्य बलियो हुनुपर्छ।”

उनले नेपालको लोकतान्त्रिक क्रान्ति र बारम्बार उत्पन्न हुने राजनीतिक अस्थिरताबारे पनि टिप्पणी गर्दै भने, “यस विषयमा हामीले गम्भीर रूपमा अध्ययन र विश्लेषण गर्न आवश्यक छ।”

पोखरेलले भदौ २३ र २४ का घटनाको निष्पक्ष छानबिनको आवश्यकता औँल्याउँदै, देशमा भएको षडयन्त्रको पहिचान बलियो राज्यले मात्र गर्न सक्ने बताए। उनले प्रतिनिधिसभा पुनःस्थापना र प्रतिगमन खारेजको माग गर्दै देशव्यापी प्रदर्शन सुरु भएको पनि जानकारी दिए।

यसैगरी, एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले लोकतन्त्रको स्थिरताले सार्थकता पाउन नसकेको र संसद पुनःस्थापना एमालेको प्रमुख शर्त भएको बताए। उनले भदौ २३–२४ गतेको आन्दोलनको न्यायिक छानबिन आवश्यक रहेको जोड दिए।

कार्यक्रम नगर कमिटी अध्यक्ष नवराज मानन्धरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य रेशम लामा, प्रदेश कमिटी सदस्य अशोक ब्याञ्जू, जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेल, प्रदेश कमिटी सदस्य कुमार तिमल्सिना र हरिशरण दाहाललगायतले पार्टीको नीति, धारणा र आगामी योजनाबारे आ–आफ्नो विचार प्रस्तुत गरेका थिए।