विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किरात धर्मका महान् गुरु, समाज सुधारक तथा सत्य, अहिंसा र नारी सम्मानका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता र सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको बताए। बाल्यकालदेखि नै समाज सुधारमा लाग्नुभएका महागुरुको योगदानले किरात धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे।
मुख्यमन्त्री कार्कीले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको चर्चा गर्दै, सवै जात, भाषा, धर्म तथा संस्कृतिको संरक्षण र संवर्द्धनमा कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
महागुरुको ‘सत्य बोल्ने, अहिंसा अपनाउने, नारीको सम्मान गर्ने’ सन्देश आज पनि जीवन पथका अमूल्य प्रेरणाका स्रोत रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको भाषा, संस्कृति र लिपिको संरक्षणमा संवैधानिक व्यवस्थाअनुसार प्रयोग र संवर्द्धनमा प्रतिबद्धता व्यक्त गरेका छन्।