काठमाडौँ । मधेश प्रदेशमा नेकपा (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको निर्णयविरुद्ध रिट दायर गरिएको छ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ प्रक्रिया नअपनाई उपधारा ३ अन्तर्गत असंवैधानिक रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेको आरोपमा अर्जुन शाहले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
सोही रिटमाथि मंगलबार पेशी तोकिएको छ।
शाहले दायर गरेको रिटमा नेपालको संविधानको धारा १३३ को उपधारा २ बमोजिम उत्प्रेषण आदेश जारी गरी प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गरिएको छ। साथै, संवैधानिक प्रक्रिया अनुसार पुनः सरकार गठनको प्रक्रिया अघि बढाउन माग गरिएको छ।
रिटमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मधेश प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाइएको छ।