सरकारी ढुकुटीमा दुई खर्ब ५५ अर्ब रुपैंयाँ नगद मौज्दा
काठमाडौं । सरकारी ढुकुटीमा दुई खर्ब रुपैंयाँ भन्दा बढी रकम नगद मौज्दात देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ भदौ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुई खर्ब ५५ अर्ब ६१ करोड रुपैंयाँ बराबरको रकम देखिएको हो । यो रकममा प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत नगद मौज्दात रहेको छ।
राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा यस्तो मौज्दात एक खर्ब ३० अर्ब ७३ करोड रुपैैयाँ रहेको थियो । समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च चार अर्ब १२ करोड र स्रोत परिचालन २४ अर्ब २२ करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी १८ अर्ब ६१ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व पाँच अर्ब ६१ करोड रुपैंयाँ रहेको छ । आर्थिक वर्ष २०८२÷८३ को दुई महिनामा विस्तृत मुद्राप्रदाय शुन्य दशमलव तीन प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय शुन्य दशमलव चार प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा विस्तृत मुद्राप्रदाय १२ दशमलव चार प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) एक खर्ब ५३ अर्ब ६८ करोड रुपैंयाँ अर्थात पाँच दशमलव आठ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति एक खर्ब एक अर्ब ७७ करोड रुपैंयाँ अर्थात पाँच दशमलव एक प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सञ्चित मुद्रा पाँच प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा शुन्य दशमलव एक प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा सञ्चित मुद्रा १० दशमलव एक प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८२÷८३ को दुई महिनामा कुल आन्तरिक दाबी भने शुन्य दशमलव आठ प्रतिशतले घटेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो दाबी शुन्य दशमलव दुई प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा यस्तो दाबी पाँच दशमलव पाँच प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १२ दशमलव नौं प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १० दशमलव नौं प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा यस्तो दाबी पाँच दशमल छ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी एक दशमलव छ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी दुई दशमलव तीन प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी सात दशमलव तीन प्रतिशतले बढेको छ।
राष्ट्र बैंकका अनुसार चालु आवको भदौ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३२ अर्ब ८६ करोड रुपैंयाँ अर्थात शुन्य दशमलव पाँच प्रतिशतले बढेर ७२ खर्ब ९६ अर्ब ७४ करोड रुपैंयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३५ अर्ब तीन करोड रुपैंयाँ अर्थात शुन्य दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२ दशमलव पाँच प्रतिशतले बढेको छ । २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः पाँच दशमलव आठ प्रतिशत, ३८ प्रतिशत र ४७ दशमलव नौैं प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः पाँच दशमलव दुई प्रतिशत, ३१ प्रतिशत र ५६ दशमलव सात प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ।