काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेश प्रदेशलाई स्वायत्त घोषणा गर्नुपर्ने आव्हान गर्दै संघीय सरकार, प्रदेश प्रमुख र अन्य संस्थाहरूप्रति कडा आरोप लगाएका छन्।
मधेस प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएपछि उनको यो प्रतिक्रियाले राजनीतिक तापक्रम बढाएको छ।
डा. राउतले भनेका छन्, “मधेश प्रदेशको सभा बैठकबाट मधेशको स्वायत्तता घोषणा गरौं; आफ्नै प्रदेश प्रहरी र प्रशासनसहितको सरकार गठन गरौं। डराएर सदियौं नेपाली शासकको गुलामी गर्यौं, अब खुलेर बोलौं।” उहाँले वर्तमान संघीय व्यवस्था, सिँहदरबारबाट पठाइएका प्रदेश प्रमुख, सभामुख, निर्वाचन आयोग र अन्य नियन्त्रक निकायहरूलाई औपनिवेशिक तौल दिएको र मधेशलाई छिन्नभिन्न पार्ने षड्यन्त्र भएको आरोप लगाए।
उनले अघि भनेका छन् यदि केन्द्रिय शासन र ती निकायले मधेशपक्षधर नेतृत्व र समर्थकमाथि दमन र प्रतिशोध जारी राख्ने हो भने मधेश प्रदेशसभाको बैठक सडकमै खोल्ने र दुई तिहाइ समर्थन पाए मधेशलाई स्वायत्त घोषणा गर्ने राजनीतिक विकल्प अपनाउन सकिने उनको भनाइ थियो।
डा. राउतले मधेसलाई “५४% जनसंख्या भएको मुठ्ठीभर नेपाली शासकको जागिर होइन” भन्दै स्थानीय जनताको अधिकार र स्वायत्ततालाई जोड दिए। उनले अहिलेको राजनीतिक परिस्थितिलाई नेपालको औपनिवेशिक शासनको निरन्तरता ठहराउँदै लागेको बेला स्वराज र पूर्ण स्वायत्तताको आन्दोलनको घोषणा आवश्यक भएको ठानेका छन्।
उनले आफ्नो वक्तव्य अन्त्यमा भनेका छन् “मधेश हाम्रो हो र यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छ “जय स्वराज।”