काठमाडौं । मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोज कुमार यादवलाई नयाँ मुख्यमन्त्री नियुक्त गरेकी छन्। सोमबार बिहान संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको हैसियतमा यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।
अस्वस्थता जनाउँदै उपचारका लागि काठमाडौं हिँडेकी प्रदेश प्रमुख सुवेदीले सिन्धुलीस्थित एक होटलमा विशेष समारोहबीच यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।
यसअघि विश्वासको मत प्राप्त गर्न असफल भएपछि तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २३ गते पदबाट राजीनामा दिएका थिए। त्यसपछि संविधानको प्रावधानअनुसार प्रदेश प्रमुख सुवेदीले एमाले नेता यादवलाई नयाँ सरकार गठनको जिम्मेवारी दिएकी हुन्।
नवनियुक्त मुख्यमन्त्री यादवले अब ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। निर्धारित समयभित्र विश्वासको मत लिन नसकेमा पुनः संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ।
यादव नेतृत्वमा सानो आकारको मन्त्रिपरिषद् गठन गरिएको छ। नयाँ सरकारले एमाले, संघीय समाजवादी पार्टी र राप्रपाको समर्थनमा संयुक्त रूपमा काम गर्ने भएको छ। मन्त्रिपरिषद्मा एमालेबाट लखन दास, संघीय समाजवादीबाट बिमला अन्सारी र राप्रपाबाट कन्चन बिच्छा मन्त्री बनेका छन्। संघीय समाजवादी र राप्रपाका मधेस प्रदेशमा एक–एक सिट छन्।
प्रदेश प्रमुख सुवेदीले स्वास्थ्य उपचारका लागि काठमाडौं प्रस्थान गर्नुअघि बर्दिबासको पानस होटलमा शपथ ग्रहण कार्यक्रम आयोजना गरेकी थिइन्। उक्त होटलमा शपथ गराएको विषयलाई लिएर राजनीतिक वृत्तमा उनको आलोचना भइरहेको छ।
