काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीको वर्तमान कार्यकारी नेतृत्व (पदाधिकारी तथा सचिवालय) भंग गर्न माग गरेकी छन्।
चितवनको सौराहामा जारी केन्द्रीय समितिको विस्तारित बैठकमा कार्कीले पार्टी रिफर्मेसनका लागि चार बुँदे मार्गचित्र प्रस्तुत गर्दै पदाधिकारी तथा सचिवालय भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नुपर्ने धारणा राखिन्।
उनले महाधिवेशन आयोजक समितिमा जेनजी, विभिन्न वैकल्पिक शक्तिहरू र बौद्धिक वर्गको प्रतिनिधित्व हुनु आवश्यक रहेको बताइन्। कार्कीले पार्टीभित्र समावेशीताको अभावबारे उठ्दै आएको आलोचनाबाट पाठ सिक्नुपर्ने पनि जोड दिइन्।
“महाधिवेशन आयोजक समिति घोषणापछि पनि केन्द्रीय सचिवालय र पदाधिकारी रहिरहनु र सचिवालय विस्तार गर्नुको आधार स्पष्ट छैन। महाधिवेशनका लागि सकारात्मक वातावरण निर्माण गर्न वर्तमान कार्यकारी नेतृत्व भंग गरी केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्नु पर्दछ।” उनको भनाइ छ ।
कार्कीले कार्यकारी नेतृत्व समूह/सचिवालय समावेशी नभएको भन्दै आलोचना भइरहेको सन्दर्भ पनि बैठकमा उठाएकी छन्। उनका अनुसार महाधिवेशनले संगठन विस्तार, वैचारिक स्पष्टता र चुनावी तयारीमा नयाँ ऊर्जा थप्नेछ ।



