जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत लिन पुगेका थिए।
विश्वासको मत पाउने सुनिश्चितता नदेखेपछि सोनलले सदनमै राजीनामाको घोषणा गर्दै प्रदेशप्रमुखको कार्यालयमा औपचारिक रूपमा राजीनामा बुझाउने बताएका थिए। त्यसको केही समयपछि शनिबार नै उनले मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष राजीनामा पेस गरेका हुन्।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सोनललाई गत असोज २९ गते ५६ सांसदको समर्थनमा मुख्यमन्त्रीमा प्रदेश प्रमुख भण्डारीले नियुक्त गरेकी थिइन्।
एक सय सात सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५४ मत आवश्यक पर्छ। मधेसमा सत्तारूढ गठबन्धनमा लोसपाका आठ, जसपा नेपालको १८, जनमतका १३, नेकपा (माओवादी केन्द्र) का नौ र नेकपा (एकीकृत समाजवादी) का सात सांसद छन्। नागरिक उन्मुक्ति पार्टीले सोनललाई समर्थन गर्ने निर्णय गरेको थियो।
तर, संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी बैठकमा अनुपस्थित रहँदा र माओवादी केन्द्रका सांसद रहबर अन्सारी तथा माला राईले सदनमा असन्तुष्टि जनाएपछि सोनलले विश्वासको मत पाउने सम्भावना कमजोर भएको महसुस गर्दै राजीनामा दिएका हुन्।
मुख्यमन्त्री सोनललाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गरिएको थियो।