शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मेलम्ची खानेपानीको पानी पथान्तरण स्थानीयद्वारा रोक

शुक्रबार, कार्तिक २१ २०८२

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाबाट पानी पथान्तरण आजदेखि रोकिएको छ। हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङ क्षेत्रका स्थानीयले माग पूरा नभएसम्म पानी काठमाडौँ पठाउन नदिने भन्दै पथान्तरण बन्द गराएका हुन्।

मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिले आयोजनाको साइट कार्यालयमा ताला लगाउँदै मागहरू कार्यान्वयन नहुन्जेल पानी पथान्तरण रोक्ने अडान लिएको जनाएको छ। समितिका उपाध्यक्ष नवराज गुरागाईंका अनुसार विगतका आन्दोलनपछि भएको सहमति कार्यान्वयन नभएकाले पुनः आन्दोलन गर्नुपरेको हो।

स्थानीयले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीको संरक्षण, बाढीअघि बैंक तथा वित्तीय संस्थाबाट लिइएका ऋण मिनाहा, मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्ति, नयाँ घर निर्माणका लागि २० लाख अनुदान र स्थानीय सरकारमार्फत खानेपानीको लेवी उपलब्ध गराउन माग गरेका छन्।

सङ्घर्ष समितिले बाढीपीडितको आयआर्जनका कार्यक्रम सञ्चालन गर्न र १७ बुँदे माग कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

विसं २०८१ असोज २३ गते सङ्घर्ष समिति, गाउँपालिका र खानेपानी मन्त्रालयबीच सम्झौता भएको थियो। तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवले मागमा सहमति जनाए पनि कार्यान्वयन नभएकाले स्थानीय फेरि आन्दोलनमा उत्रिएका हुन्। विसं २०७८ असार १ गतेको भीषण बाढीले मेलम्ची नदी आसपासका अधिकांश बासिन्दाका घरखेतमा व्यापक क्षति पुर्‍याएको थियो।