शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पूर्वमन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्टलाई सात दिनभित्र बक्यौता बहाल तिर्न अन्तिम चेतावनी

बिहिबार, कार्तिक २० २०८२

काठमाडौं । नेपाल स्काउटले आफ्नो जग्गा र संरचना प्रयोग गरिरहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिनभित्र बक्यौता बहाल तिर्न अन्तिम चेतावनी दिएको छ।

तोकिएको समयभित्र भाडा नतिरे कम्पनीका सम्पूर्ण भवन तथा सामानहरू जफत गरिने स्काउटले सार्वजनिक सूचनामार्फत जनाएको छ।

उक्त कम्पनी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काको स्वामित्वमा रहेको हो। स्काउटका अनुसार कम्पनीले लामो समयदेखि भाडा नतिरी सम्झौताविपरीत जग्गा कब्जा गर्दै आएको र यसबाट संस्थालाई अपूरणीय क्षति पुगेको छ।

स्काउटद्वारा जारी सूचनामा भनिएको छ, “निर्धारित समयभित्र बक्यौता तिर्न नआए नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्टबीचको सम्झौताको बुँदा नं. ४ तथा मुलुकी देवानी संहिता, २०७४ का दफा ६१९, ६२०(४) र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामग्री जफत गरिनेछ। बाँकी रकम घरघराना वा जायजेथाबाट असुलउपर गरिनेछ।”

स्काउट र कम्पनीबीच २०६५ सालमा १० वर्षका लागि भाडा सम्झौता भएको थियो। तर, २०७५ मा सम्झौता अवधि सकिएपछि पनि कम्पनीले लैनचौरस्थित जग्गा खाली गरेको छैन।

उक्त विवाद जिल्ला अदालतदेखि उच्च अदालत पाटनसम्म पुगेको थियो, जहाँ २०७९ असार १३ गते स्काउटको पक्षमा फैसला भएको हो। अदालतको फैसला कार्यान्वयनका लागि पटक–पटक आग्रह गर्दा पनि कम्पनीले अटेर गर्दै आएको स्काउटले जनाएको छ।