शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

अपानि जारी गर्दै एमालेले भन्यो : सरकार ‘असंवैधानिक’, जनआन्दोलनका कार्यक्रम घोषणा

बुधबार, कार्तिक १९ २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्तमान सरकारलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा विघटन अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी ‘अन्तर पार्टी निर्देशन–१३’ (अपानि) मार्फत एमालेले विघटित प्रतिनिधिसभा तत्काल पुनर्स्थापना हुनुपर्ने र देशलाई संविधानको मार्गमा फर्काउन जनआन्दोलन आवश्यक भएको बताएको छ।

निर्देशनमा भदौ २३–२४ का घटनाक्रमपछि उत्पन्न राजनीतिक संकटको समाधान संसदीय प्रक्रियाबाट खोज्नुको सट्टा संविधान बाहिरबाट सरकार गठन गरिएकोमा आपत्ति जनाइएको छ।

निर्देशनको चौथो बुँदामा उल्लेख छ: “राजनीतिक दलहरूको सुझाव विपरीत संविधानको दायराभन्दा बाहिरबाट सरकार गठन गर्ने र प्रतिनिधिसभा विघटन गर्ने काम भयो। तसर्थ यो सरकार असंवैधानिक छ।”

एमालेले भदौ २३ गतेको ‘जेन–जी’ आन्दोलनका मागहरू जायज भए पनि त्यसमा स्वार्थी तत्वको घुसपैठले परिस्थिति हिंसात्मक बनेको आरोप लगाएको छ। भदौ २४ गतेको तोडफोड, आगजनी र लुटपाटलाई पार्टीले ‘स्वतःस्फूर्त नभई सुनियोजित र राष्ट्र, जनता, लोकतन्त्र र संविधानविरुद्धको भयानक षड्यन्त्र’ भनेको छ। यसलाई अन्तर्राष्ट्रिय ‘कलर रिभोल्युसन’को निरन्तरता मान्दै यसको उद्देश्य सरकार परिवर्तन मात्र नभई राष्ट्रियता, लोकतन्त्र र संविधानको समाप्ति रहेको एमालेको ठहर छ।

पार्टीले सरकारलाई प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्ने कार्यादेश भए पनि चुनाव गराउन नचाहने र सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाएको छ। भदौ घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगलाई अस्वीकार गर्दै, सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा स्वतन्त्र र निष्पक्ष आयोग गठन गर्न माग गरिएको छ।

एमालेले देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलन बाहेक विकल्प नभएको निष्कर्ष निकाल्दै चरणबद्ध आन्दोलन कार्यक्रम घोषणा गरेको छ:

कात्तिक २२: वडास्तरीय जनभेला

कात्तिक २५: पालिकास्तरीय जनप्रदर्शन

कात्तिक २९: जिल्लास्तरीय जनसभा

मङ्सिर ६: काठमाडौं उपत्यकास्तरीय जनप्रदर्शन

साथै, पार्टीको एघारौं राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७–२९ मा काठमाडौंमा गर्ने निर्णय भएको छ। महाधिवेशनका लागि २,१२७ प्रतिनिधि चयन गरिनेछ, जसको निर्वाचन मङ्सिर १३ गते देशभर एकसाथ हुनेछ।

अध्यक्ष ओलीले निर्देशनको अन्त्यमा पार्टी पंक्तिलाई एकताबद्ध, गतिशील र जुझारु बनाउँदै आन्दोलन र महाधिवेशनलाई सफल बनाउन आह्वान गरेका छन्।