काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आज दिउँसो १ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकमा ८ दलसँग भएको पार्टी एकता समझदारी औपचारिक रूपमा अनुमोदन गर्ने तयारी छ।
आइतबार एकीकृत समाजवादीसहितका दलसँग गरिएको १८ बुँदे सहमति पत्र आजको बैठकबाट स्वीकृत गरिनेछ। सहमति पत्रमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सहितका अन्य दलका नेताहरूले हस्ताक्षर गरेका छन्।
हस्ताक्षरकर्ता मध्ये महासचिव चिरन पुन, नेकपा (समाजवादी) अध्यक्ष राजु कार्की, जनसमाजवादी पार्टी अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टी अध्यक्ष महिन्द्र राय यादव, नेकपा (माओवादी समाजवादी) का कर्णजित बुढाथोकी र नेकपा (साम्यवादी) का प्रेमबहादुर सिंह छन्।
सहमति अनुसार, एकीकृत दलको चिन्ह पाँच कुने तारा रहनेछ। नयाँ दलको नाम भने अझै टुंगो लागेको छैन। पार्टीको सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ र आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन गर्ने योजना बनाइएको छ।
त्यस्तै, बुधबार औपचारिक रूपमा एकता घोषणा गर्ने र बिहीबार एकीकृत पार्टीको संयुक्त केन्द्रीय समिति बैठक बस्ने तयारी पनि गरिएको छ।