काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मष्टा ग्रुपका सञ्चालक जीवन चलाउनेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
विभागका अनुसार चलाउनेले करिब रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा पुष्टि भएको छ।
अभियोगपत्रमा उनले खरिदको कुल मूल्य रु एक अर्ब ४५ करोड ५४ लाख तीन हजार ९४८ र अवैध रूपमा आयात गरेको ६० किलो ७१६ ग्राम सुन (प्रतितोला रु १ लाख १२ हजार ५०० दरमा) को मूल्य रु ५८ करोड ५६ लाख नौ हजार ५६८ रहेको उल्लेख छ।
विभागले चलाउनेको नाममा हिमालयन बैंकमा रहेको खातामा जम्मा रु तीन करोड ५२ लाख सहित कुल रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको जनाएको छ।