काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।
मन्त्री घिसिङले आफूलाई कार्यकारी निर्देशक पदबाट हटाएको निर्णयविरुद्ध शाक्यले सोमबार सर्वोच्चमा रिट दायर गर्दै उत्प्रेषणको आदेश माग गरेका हुन्।
शाक्यलाई केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको थियो। उनले २०८१ चैत ११ गते पदभार ग्रहण गरेका थिए। तर कार्यकालको ६ महिना पनि पूरा हुन नपाउँदै गत असोज ५ गते मन्त्री घिसिङले उनलाई प्राधिकरणबाट हटाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए।
शाक्यलाई हटाएपछि मन्त्री घिसिङले मनोज सिलवाललाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेका छन्।