१९ गते एकता घोषणा
काठमाडौं । नेपालका आठ कम्युनिष्ट दल र समूहहरूले एकता गर्ने औपचारिक सहमति गरेका छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वामपन्थी शक्तिहरू आइतबार साँझ माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि एकता सहमतिपत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा अघि बढ्ने निष्कर्षमा पुगेका हुन्।
सहमतिपत्रमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र नेकपा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।
यसअघि एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसहितका वाम दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो, जबकि माओवादीले पनि शनिबार बैठकमार्फत एकता प्रक्रियामा सहमति जनाएको थियो।
नयाँ विचारधारात्मक मार्गदर्शन : माक्र्सवाद–लेनिनवाद
सहमति पत्रअनुसार नयाँ एकीकृत दलले माक्र्सवाद–लेनिनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा लिनेछ। नेपाली क्रान्तिको कार्यक्रम “नेपाली विशेषताको वैज्ञानिक समाजवाद” हुने उल्लेख गरिएको छ।
तात्कालिक कार्यनीतिमा पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्ने नीति रहनेछ।
सहमति पत्रमा भनिएको छ, “आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ, तर आवश्यकताअनुसार सडक, सदन र सरकार सबै क्षेत्रलाई आन्दोलनको मोर्चा बनाइनेछ।”
१९ गते एकता घोषणा, ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन
आठवटै घटक दलले यही कात्तिक १९ गते “एकता राष्ट्रिय सम्मेलन” आयोजना गर्ने निर्णय गरेका छन्। उक्त सम्मेलनले पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित गर्नेछ। साथै, केन्द्रीय समितिको गठन पनि त्यही भेलाबाट हुनेछ।
एकता भएका दलहरूको केन्द्रीय, प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा संयोजक र सह–संयोजकको संरचना रहनेछ। आगामी ६ महिनाभित्र राष्ट्रिय महाधिवेशन गर्ने सहमति पनि भएको छ।
चुनाव चिह्न ‘तारा’, नाम अझै टुंगो छैन
नयाँ पार्टीको नाममा अन्तिम सहमति नभए पनि “तारा” चुनाव चिह्न प्रस्ताव गरिएको छ। एकता घोषणा पछि निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाको तयारी भइरहेको छ। आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कात्तिक ३० गतेभित्र दल दर्ता प्रमाणपत्र लिनुपर्ने समयसीमा तोकेको छ।
यद्यपि माओवादी र एकीकृत समाजवादी दुवैभित्र एकता प्रक्रियाप्रति पूर्ण सहमति छैन। माओवादी उपमहासचिव जनार्दन शर्माले असन्तुष्टि जनाएका छन् भने एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाल र रामकुमारी झाँक्री लगायतका नेताहरू एकताको विरोधमा उभिँदै अलग समूह गठन गरिसकेका छन्।
त्यस्तै, नेकपा महासचिव चिरन पुन नेतृत्वको समूह पनि नेक्रविक्रम चन्द ‘विप्लव’को नेकपाबाट अलग भई यस एकता प्रक्रियामा सामेल भएको हो।
यसअघि २०७४ सालमा नेकपा (एमाले) र माओवादी केन्द्रबीच एकता भई नेकपा गठन भएको थियो। तर, आन्तरिक मतभेद र सर्वोच्च अदालतको फैसलापछि दुई वर्ष नौ महिनामै उक्त पार्टी पुनः अलग भएको थियो।