काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीसँग समन्वय बैठक आह्वान गरेकी छन्। बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
परिवर्तित राजनीतिक तथा प्रशासनिक अवस्थालाई ध्यानमा राख्दै संघीय र प्रदेश सरकारबीच संवाद र सहकार्यलाई थप सुदृढ बनाउन बैठक आयोजना गरिएको बताइएको छ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका चेतनारायण आचार्य, कर्णाली प्रदेशका यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका कमलबहादुर शाह सहभागी हुने छन्।
बैठकमा संघीय नीति तथा कार्यक्रम, प्रदेशसँगको सहकार्य, बजेट कार्यान्वयनका चुनौती र केन्द्र–प्रदेश समन्वयका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।