काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डका विभिन्न स्थानमा पहिरो र लेदो खसेर सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्ती क्षेत्रमा पहिरो खसेका छन् भने नार्के, पिन्थलीबेसी र विरुवाडाँडालगायत स्थानमा लेदोका कारण सडक बन्द भएको हो।
चौकीडाँडामा खसेको पहिरो पन्छाउने क्रममा माथिबाट पुनः अर्को पहिरो खसेपछि काम रोकिएको प्रहरीले जनाएको छ। निरन्तर वर्षा भइरहेकाले जोखिम बढेको र सडक खुलाउन समय लाग्ने बताइएको छ।
प्रहरीले यात्रुहरूलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै हिँड्न आग्रह गरेको छ।
यसैबीच, बीपी राजमार्गमा रातिको समयमा सवारी आवागमनमा दुई दिनका लागि प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार हिजो साँझ ५ बजेदेखि आज बिहान ५ बजेसम्म सवारी सञ्चालन रोकिएको थियो भने आज पनि साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म खुर्कोट बजारदेखि काठमाडौंतर्फ जाने सवारीसाधन सञ्चालनमा रोक लगाइने निर्णय गरिएको छ।