काठमाडौं । राष्ट्र बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरू गर्ने घोषणा गरेका छन्।
बुधवार राष्ट्रिय मानव अधिकार आयोगसँगको भेटपछि प्रसाईंले तत्कालीन सात दल र नेकपा (माओवादी) बीच दिल्लीमा भएको १२ बुँदे सहमतिको मितिसँग प्रतीकात्मक रूपमा सोही दिनबाट आन्दोलन सुरु गर्ने निर्णय गरेको जानकारी दिए।
उनका अनुसार आन्दोलन मेचीदेखि महाकालीसम्म एकैपटक सञ्चालन गरिनेछ। “मानव अधिकार आयोगलाई हाम्रो आन्दोलनबारे जानकारी गराएका छौँ। सिंहदरबारमा आगजनी वा घर जलाउने हाम्रो उद्देश्य होइन,” प्रसाईंले भने, “दिल्लीको सम्झौताकै कारण राजसंस्था र हिन्दू अधिराज्य समाप्त भयो, अब त्यसको पुनर्स्थापना गर्ने समय आएको छ।”
प्रसाईंले आन्दोलनका दिन पसल र व्यवसाय बन्द गरेर समर्थन जनाउन देशवासीलाई आग्रह गरे। उनले देश हाल ‘शून्य अवस्थामा’ पुगेको भन्दै व्यवस्था परिवर्तनको आन्दोलनमा कर्मचारी र सुरक्षाकर्मीको पनि समर्थन अपेक्षा गरिएको बताए।
उनका अनुसार आगामी आन्दोलनको लक्ष्य बौद्ध र किरात धर्मसहितको सनातन हिन्दू राष्ट्र पुनःस्थापना गर्नु रहेको छ।