काठमाडौं । वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपिआइएमएस)मा समस्या आएको कारण श्रम स्वीकृतिका लागि आवेदन दिनेलाई असुविधा भएको छ।
मङ्गलबारदेखि प्रणालीमा देखिएको समस्या बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती बनाएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए।
ढकालका अनुसार, “एफपिआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई समस्या परेको छ। अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा प्रत्यक्ष आएका सेवाग्राहीलाई भने हाम्रो अर्को प्रणालीबाट सेवा दिइरहेका छौँ। तर बाहिरबाट आवेदन दिनेहरूको लागि समस्या भइरहेको छ।”
विभागले वेबसाइटमा देखिएको समस्या मङ्गलबारदेखि समाधान भएको जनाएको छ। प्राविधिक समूहले हाल पनि प्रणालीको जाँच गरिरहेको र केही दिनभित्र पूर्ण रूपमा समस्या समाधान हुने ढकालले बताए।
उनले थप भने, “वेबसाइटको ‘स्पेसल सर्टिफिकेट’को समयसीमा सकिँदा समस्या देखिएको थियो। मङ्गलबार सर्भर बन्द हुँदा बाहिरबाट आवेदन दिनेलाई समस्या परेको थियो, तर सोही दिन यो समस्या समाधान गरिएको छ।”