काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सरकार, राजनीतिक दल र जेनजीका विभिन्न समूहका प्रतिनिधिहरू सहभागी हुने त्रिपक्षीय बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे निर्धारित बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफल बनाउन सबै पक्षको भूमिका, जेनजी आन्दोलनले उठाएका मागहरूको सम्बोधन र हालको राजनीतिक परिस्थिति सम्बन्धी विषयमा छलफल हुने बताइएको छ।
गत भदौ २७ गते प्रधानमन्त्री बनेकी कार्कीले यसअघि तिहारअघि दलका प्रतिनिधिहरूसँग भेटघाट गरेकी थिइन्, तर सो बैठकमा जेनजीका प्रतिनिधिहरू सहभागी थिएनन्। यो पहिलोपटक प्रधानमन्त्रीले सबै पक्षलाई एउटै मञ्चमा ल्याएर संवाद गर्न लागेकी हुन्।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार निर्वाचनको वातावरण निर्माण गर्न संयुक्त बैठक आयोजना गरिएको हो। उनका भनाइमा, “निर्वाचन सफल पार्नका लागि राजनीतिक दल र सम्बद्ध पक्षहरूसँग चरणबद्ध वार्ता र छलफलको प्रक्रिया जारी छ।”