शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एकतालाई लिएर माओवादी केन्द्र र नेकपा समाजवादी भित्र असन्तुष्टि र विवाद बढ्दाे

सोमबार, कार्तिक १० २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस)बीच पार्टी एकताको छलफल तीव्र बनेको छ । दुवै दलका शीर्ष नेताहरू पछिल्ला दिनमा लगातार अनौपचारिक संवादमा व्यस्त रहेका छन् ।

माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच शीघ्र पार्टी एकता गर्ने सहमति भएको बताइए पनि दुवै दलभित्र त्यसबारे असन्तुष्टि र विवाद बढ्दै गएको छ ।

सूत्रका अनुसार, पार्टीको नामबाट ‘माओवादी’ शब्द हटाएर ‘समाजवादी केन्द्र’ राख्ने विषयमा पनि प्रारम्भिक सहमति नजिक पुगेको छ । तर, नेताहरूबीचको गोप्य छलफलले संगठनभित्र असन्तोष निम्त्याएको छ । नेताहरूले पार्टीभित्र विस्तृत छलफल नगरी शीर्ष तहबाटै एकताको निर्णय गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।

यसैबीच, माओवादी केन्द्रका संयोजक प्रचण्डको सचिवालयले एकता विषयमा अन्तिम निर्णय भइनसकेको स्पष्टिकरण सार्वजनिक गरेको छ । विज्ञप्तिमा भनिएको छ, “समाजवादी मोर्चामा आबद्ध दल र अन्य वामपन्थी समूहहरूसँग विचार र संगठनात्मक तहमा छलफल भइरहेको छ, तर कुनै पनि दलसँग एकताको अन्तिम निर्णय भइसकेको छैन।”

यसअघि माओवादी केन्द्र, नेकपा एस र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच संयुक्त रूपमा पार्टी एकताको सम्भावना खोज्ने सहमति बनेको थियो । तर, पछिल्लो समयमा प्रचण्ड र माधव नेपालबीच मात्रै एकता प्रक्रियामा तीव्रता देखिएपछि अन्य दलहरूमा पनि प्रतिक्रिया र असन्तोष बढेको हो ।

नेकपा एसका उपाध्यक्ष प्रकाश ज्वालाले वार्ता ‘सकारात्मक दिशामा’ गएको बताउँदै भने, “माओवादीसँग मात्रै होइन, विप्लव नेतृत्वको नेकपा र अशोक राईको जसपासँग पनि छलफल भइरहेको छ । सैद्धान्तिक रूपमा माओवादीसँग कुरा मिलिसकेको छ ।” उनले यही कात्तिक १२ गतेदेखि बस्ने केन्द्रीय कमिटी बैठकले अन्तिम निर्णय गर्ने सम्भावना रहेको बताए ।

दलभित्र असन्तुष्टि र विभाजित धारणा

माधव नेपालले २०७८ भदौमा एमाले विभाजन गरेर नेकपा एस गठन गरेका थिए । तर, पछिल्ला निर्वाचनमा अपेक्षित सफलता नपाएपछि पार्टीभित्र असन्तोष चुलिएको छ । अब माओवादीसँग एकता गर्ने तयारीले झलनाथ खनाल, घनश्याम भुसाल र रामकुमारी झाँक्री लगायत नेताहरू असन्तुष्ट बनेका छन् । उनीहरूका अनुसार, “माओवादीसँग मात्र एकता होइन, समग्र वाम शक्तिको साझा एकता हुनुपर्छ।”

त्यस्तै माओवादी केन्द्रभित्र पनि नेताहरू विभाजित छन् । जनार्दन शर्मा नेतृत्वको समूहले पार्टी महाधिवेशनको तयारी भइरहेको बेला ‘एकताको नाममा नेतृत्व कब्जा गर्ने प्रयास’ भएको आरोप लगाएको छ ।

नाम र चुनाव चिन्हबारे विवाद

एकता प्रक्रियामा माओवादी केन्द्रले आफ्नो नाम र ‘हसिया हथौडा’ चुनाव चिन्ह छाड्ने सहमति गरेको बताइएको छ । तर, यो विषय पार्टीभित्र विवादास्पद बनेको छ । माओवादीका नेताका अनुसार, “हसिया हथौडा केवल चिन्ह होइन, जनयुद्ध र वर्ग संघर्षको प्रतीक हो । त्यसलाई छाड्नु माओवादीको अस्तित्व त्याग्नुजस्तै हुन्छ।”

बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पनि गलत प्रचार रोक्न आग्रह गर्दै भने, “एकताको प्रयास विचार, नाम वा चिन्ह खोस्ने मानसिकतामा आधारित होइन । दुवै पक्षबीच समानताको आधारमा अघि बढ्नुपर्छ।”

विप्लवको सर्त  

यसबीच, नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिष्टबीच एकताको आवश्यकता स्वीकार गर्दै पनि तत्काल एकताको पक्षमा नभएको बताएका छन् । उनले भने, “एकता केवल संगठनात्मक होइन, विचार, सिद्धान्त, लक्ष्य र संस्कृतिमा समानता आवश्यक छ । यी विषयमा गम्भीर छलफल जारी छ, तर टुंगो लागेको छैन।”

विप्लवले वामपन्थी दलहरूबीच ‘शत्रुतापूर्ण सोच त्यागेर’ साझा समाजवादी मोर्चा निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनको पार्टी पनि हाल माओवादी र समाजवादी दलहरू सम्मिलित समाजवादी मोर्चाको सदस्य रहेको छ ।

यसरी, वामदलबीचको सम्भावित एकताले नेपाली राजनीतिमा नयाँ समीकरणको संकेत गरे पनि अन्तिम निर्णय अघि दुवै दलभित्रको असन्तुष्टि र शक्ति–संघर्षले त्यसको भविष्य अनिश्चित देखिएको छ ।