शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कुनै पनि राजनीतिक पार्टीमा आबद्ध हुने हल्ला निराधार: मन्त्री घिसिङ

शुक्रबार, कार्तिक ७ २०८२

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक पार्टीमा आबद्ध हुने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका छन्।

उनी उज्यालो नेपाल पार्टीमा आवद्ध भई पार्टी अध्यक्ष बन्न लागिएको भन्ने समाचारबारे प्रतिक्रिया दिँदै घिसिङले त्यस्ता दाबीहरू पूर्ण रूपमा असत्य र तथ्यहीन भएको बताएका छन्। उनका अनुसार सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा प्रसारित भएका ती समाचारहरू दुषित मनसायका साथ तयार पारिएका हुन्।

मन्त्री घिसिङले भनेका छन्, “सूचना तथा समाचारमा उल्लेख गरिएझैँ उक्त पार्टीमा मेरो आवद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएझैँ ‘जुम’ बैठकमा मेरो सहभागिता पनि नरहेको स्पष्ट पार्छु।”

उनले आफूले कुनै छलफल वा सल्लाह नै नगरी असत्य र भ्रामक जानकारी प्रचार गरिएको भन्दै त्यसको कडा खण्डन गरेका छन्। साथै उनले सबैलाई यस्ता भ्रमपूर्ण समाचारमा नपर्न आग्रह गरेका छन्।