शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सरकारले मसँग दुश्मनी लिएर अर्को आन्दोलनको बीजारोपण गरिरहेको छ : अध्यक्ष ओली

बिहिबार, कार्तिक ६ २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध व्यक्तिगत दुश्मनी राख्दै अर्को आन्दोलनको बीजारोपण गरिरहेको आरोप लगाए ।

बुधवार जेन–जी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटका कारण ध्वस्त भएको बालकोटस्थित आफ्नै निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको दाबी गरे।

उनले आन्दोलनका क्रममा अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाही नगरी सरकारले जिम्मेवारी पन्छिएको आरोप लगाउँदै भने, “सरकारले यस्ता अपराधिक गतिविधिमा संलग्नहरूलाई पक्राउ गर्न खोजेको छैन, बरु उनीहरूलाई संरक्षण गरिरहेको छ । यसरी सरकार आफैंले अर्को आन्दोलनको बीजारोपण गर्दैछ।”

ओलीले थप भन, “लुेटपाट गर्नेहरू यही वरपरका थिए, तर सरकारले कुनै कदम चालेको छैन । पक्राउ परेकाहरूमध्ये केहीलाई त छोडिसकिएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासनमा सरकारको ध्यान छैन, बरु प्रतिशोधका नीतिमा लागिरहेको छ।”

उनका अनुसार गृहमन्त्रीले टेलिभिजन अन्तर्वार्तामा व्यक्त गरेको अभिव्यक्तिले सरकारको मनसाय स्पष्ट भएको छ— “दुःख पाएकामाथि दुश्मनी राख्ने र पीडितलाई न्याय नदिने।”

अध्यक्ष ओलीले जेन–जी आन्दोलनका अगुवामार्फत आफूसहितका नेताहरूमाथि दबाब सिर्जना गरी गिरफ्तारीको तयारी भइरहेको गम्भीर आशंका पनि व्यक्त गरे ।