काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख राजनीतिक दलका नेताहरूबीच भएको बैठक सम्पन्न भएको छ।
बैठकमा प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।
उनले चुनाव सफल बनाउन सरकारका सबै निकायहरू सक्रिय रूपमा जुटिरहेको बताउँदै सुरक्षा संयन्त्र समेत त्यसका लागि तयारी अवस्थामा रहेको उल्लेख गरिन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दलहरूसँग संवादमा ढिलाइ हुनुको कारणबारे प्रधानमन्त्रीले घाइतेहरूको उपचार, सहिदका शवको व्यवस्थापन, परिवारलाई राहत प्रदान र आन्दोलनकारी पक्षका आवाज सुन्नुपर्ने आवश्यकताका कारण समय लागेको स्पष्ट पारेकी छन्।
प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ, “सुरुवाती चरणमा जेनजी युवाहरूले दलहरूसँग संवाद गर्न खासै रुचि देखाएका थिएनन्। राष्ट्रपतिज्यूको पहलपछि संवादको वातावरण बनेको हो। अब जेनजी र दलहरूबीच बसौं, स्थिति सामान्यीकरण गर्दै चुनावतिर अघि बढौं। चुनाव सफल बनाउन सबैले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नुपर्छ। सरकार तपाईंहरूले व्यक्त गर्नुभएको चिन्ता र चासो सम्बोधन गर्न तयार छ।”