महेन्द्रनगर । सोमबार बेलुकी तिहारको रौनकसँगै देशभर लक्ष्मीपूजा चलिरहँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको छ। दुई वर्षअघि अध्ययनका लागि इजरायल गएका विपिन जोशीको शव सोमबार राति कफिनमा घर आइपुगेको हो।
इजरायलमा हमासद्वारा बन्धक बनाइएका विपिनको हत्या भएको पुष्टि भएपछि परिवार र गाउँ शोकमा डुबेको छ। चरणबद्ध रूपमा अन्य बन्धकहरू सकुशल मुक्त भए पनि कञ्चनपुरका विपिन भने फर्कन सकेनन्।
विपिनकी आमा पद्मा र बहिनी पुष्पा उहाँको रिहाइका लागि इजरायल र अमेरिकासम्म पुगेका थिए, तर सबै प्रयास असफल रह्यो। सोमबार बिहानसम्म परिवारलाई विपिनको अवस्थाबारे औपचारिक जानकारी दिइएको थिएन। विपिनको निधनको खबर पुष्टि भएपछि बहिनी पुष्पाले दाजुको टीकाको तयारीमा राखिएका सयपत्री फूल उखेलिन्।
“पुष्पा यसपालि भाइटीकामा दाजुसँग भेट हुनेछ भन्ने आशामा थिइन्,” परिवारका सदस्य किशोर जोशीले भावुक हुँदै भने, “तर लक्ष्मीपूजाकै दिन विपिनको शव आँगनमा आइपुग्दा घर शोकमा डुब्यो।”
विपिनको शव दिउँसो काठमाडौं पु¥याएर बेलुकी नेपाली सेनाको स्काइ ट्रकमार्फत धनगढी ल्याइएको थियो। शव परिवारलाई नेपालस्थित इजरायली दूतावासका अधिकारीहरूले हस्तान्तरण गरेका थिए। अन्तिम संस्कार आज बिहान महेन्द्रनगरको महाकाली नदीमा गरिनेछ।
इजरायलको द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन ले जारी गरेको परीक्षण रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि गरिएको छ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन त्यहाँ पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए। सो आक्रमणमा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने विपिन बन्धक बनाइएका थिए।