शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गृहमन्त्री अर्यालको दाबी असत्य र भ्रामक : ‘भागेका’ भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै देखिए

सोमबार, कार्तिक ३ २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले “भागेका” भनेर दाबी गरेका तत्कालीन ऊर्जामन्त्री दीपक खड्का आज आफ्नै जलेको घरबाट सार्वजनिक भएका छन्।

केही दिनअघि गृहमन्त्री अर्यालले एक अन्तर्वार्तामा सरकारद्वारा सुरु गरिएको सम्पत्ति छानबिन अभियानपछि पूर्वमन्त्री खड्का फरार भएको दाबी गर्दै भनेका थिए, “अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाएका छौँ। कसैको भागाभाग समेत भएको छ—तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्।”

तर सोमबार दिउँसो पूर्वमन्त्री खड्का आफ्नै बुढानीलकण्ठस्थित आन्दोलनकारीहरूले जलाएको घरमा पत्रकारहरूसँग अन्तरक्रियामा सहभागी हुँदै सार्वजनिक भएका छन्।

पत्रकारहरूसँगको भेटमा खड्काले देशको पछिल्लो राजनीतिक अवस्था र भदौ २३–२४ का घटनाबारे आफ्नो धारणा राख्दै गृहमन्त्रीको दाबीलाई असत्य र भ्रामक बताएको स्रोतले जनाएको छ।

काठमाडौंको बुढानिलकण्ठमा रहेको तत्कालीन मन्त्री खड्काको घर जेनजी आन्दोलनकाक्रममा भदौ २४ गते आगजनी भएर पूर्ण रुपमा जलेको थियो।

“म भागेको होइन, देशको नागरिक हुँ’

खड्काले आफू फरार नभएको स्पष्ट पार्दै सरकार र सञ्चारमाध्यममाथि असन्तोष प्रकटसमेत गरे।

आफ्नो जलेको बुढानीलकण्ठस्थित घरबाट पत्रकारहरूसँग बोल्दै खड्काले भने, “म पनि यो देशको नागरिक हुँ। म देश छोडेर किन भाग्ने ? यो विषयमा मिडियालाई देखेर मलाई दया लागेको छ।”

उनले आफ्नो पछाडि यसरी “मानिस हुलका रूपमा लाग्दा” सिङ्गो समाज नै भ्रमित भएको बताउँदै, सरकारको कुनै पनि निकायले आफूमाथि रोक नलगाएको स्पष्ट पारे। “सरकारले मेरो नाममा कुनै पत्र काटेको छैन, न कतै नजानु भनेर रोक लगाएको अवस्था छ। त्यसो हुँदा पनि यस्तो भ्रम किन फैलाइयो ?” उनको प्रश्न थियो।