काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले ‘जेन-जी’ आन्दोलनका क्रममा भएका दमन र हिंसाको निष्पक्ष छानबिन गर्नु सरकारको पहिलो र प्राथमिक जिम्मेवारी भएको बताएकी छन् ।
शुभ दीपावलीको अवसरमा नेपाली जनतामुखातर्फ सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा आगामी फागुन २१ गते हुने निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाइन् । उनले भनिन्, “जेन–जी आन्दोलनले देखाएको सुशासन र विकासको आकांक्षा पूरा गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ ।”
प्रधानमन्त्री कार्कीका अनुसार अहिलेको सरकारको मुख्य कार्यसूचीमा तीन प्रमुख उद्देश्य छन्- स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने, र जेन-जी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने । उनले यसलाई सरकारको “प्राथमिक र अनिवार्य दायित्व” भएको स्पष्ट पारिन् ।
उनले थप भनिन्, “६ महिनाभित्र स्थिर सरकार दिने प्रतिज्ञासहित हामी निर्वाचनको वातावरण बनाउन प्रयत्नशील छौँ । राजनीतिक संवाद र सुरक्षा सुधारका काम सन्तोषजनक ढंगले अघि बढिरहेका छन् ।”
प्रधानमन्त्री कार्कीले नेपाली समाजको एकता र सहिष्णुताको परम्परा कठिन परिस्थितिमा पनि दृढ रहेको उल्लेख गर्दै सबैलाई राष्ट्रिय एकता र आशावादका साथ अघि बढ्न आह्वान गरिन् । उनका शब्दमा, “कुनै पनि भ्रममा नपरी निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणका लागि सबै मिलेर अघि बढौँ । शान्ति, समृद्धि र सुशासनको आकांक्षा साकार पार्न राष्ट्रिय संकल्पका साथ अघि बढ्नुपर्ने समय यही हो ।”
प्रधानमन्त्री कार्कीले सम्बोधनमा भनिन्, “भदौको महान ‘जेन–जी’ आन्दोलनले हामीमाथि जुन भरोसा र जिम्मेवारी सुम्पिएको छ, त्यसको सम्मान गर्दै सरकारले समावेशी, पारदर्शी र उत्तरदायी शासनको मार्ग अवलम्बन गर्ने दृढ प्रतिबद्धता जनाएको छ ।”