काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि आगामी निर्वाचन सम्पन्न गर्न सबै पक्षलाई जिम्मेवार र एकताबद्ध भएर अघि बढ्न आह्वान गरेकी छन् ।
शनिबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल तथा चारै सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलपछि प्रधानमन्त्रीले यस्तो आग्रह गरेकी हुन् ।
‘फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तयारी तीव्र गतिमा अघि बढिरहेको छ,’ प्रधानमन्त्री कार्कीले एक्समा लेखेकी छन्, ‘सहज र सफल निर्वाचनका लागि सबै पक्ष जिम्मेवार बनौं र एकताबद्ध भएर काम गरौं।’
राष्ट्रपति पौडेल, गृहमन्त्रीलगायत मन्त्रीहरू तथा सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे गहन समीक्षा भएको प्रधानमन्त्रीले बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका प्रमुखहरूले उच्च मनोबलका साथ आवश्यक सुरक्षा प्रबन्ध मिलाउन तयार रहेको जानकारी दिएको उल्लेख गर्दै निर्वाचनको अनुकूल वातावरण बनाउन राजनीतिक तहबाट पहल भइरहेको र दलहरूसँग संवाद सुरु भइसकेको जानकारी समेत दिएकी छन् ।