काठमाडौँ । उज्यालो र खुशीको पर्वका रूपमा चिनिने यमपञ्चक अर्थात् तिहार आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व यसपालि पनि आजदेखि विधिवत् आरम्भ भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज दिउँसो १ः२३ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले आज धनतेरस (धनत्रयोदशी) र यमदीपदान पर्व मनाइँदैछ। समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यमदीपदान आजबाटै सुरु हुन्छ भने काग तिहार आइतबार पर्छ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार बेलुकी त्रयोदशी परेका दिन धनत्रयोदशी र यमदीपदान गर्ने र बिहान त्रयोदशी परेका दिन काग तिहार मनाउने परम्परा रहिआएको छ। यमपञ्चकका अवसरमा दीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास रहिआएको छ। यसै दिन धनवन्तरी जयन्ती पनि मनाइन्छ।
तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एउटै दिन परेको समितिले जनाएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म परिवारका सदस्य सङ्ख्याका आधारमा यमदीपदान दक्षिणतर्फ फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा. तोयराज नेपाल बताउँछन्।
समितिका अनुसार आइतबार बिहान नरक स्नानपछि कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गरिनेछ। यस दिन बिहान अपामार्गसहित स्नान गरी नदीमा बत्ती बगाउनाले नरकको यातना नपाइने धार्मिक विश्वास छ।
कात्तिक ३ गते सोमबार दिउँसो २ः५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि पर्ने भएकाले लक्ष्मीपूजा पनि त्यसै दिन गर्नुपर्ने भएको हो। रातमा औँसी तिथि परेकाले सोही बेला लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि रहिआएको समितिले जनाएको छ।
कात्तिक ५ गते बुधबार गाई, गोरु र गोवद्र्धन पूजा गरिनेछ। सोही दिन हलितिहार, बलीपूजा, आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ को आरम्भ पनि हुनेछ। शास्त्रीय परम्परा अनुसार प्रतिपदाका दिन सूर्योदयसँगै नयाँ वर्ष (नेपाल संवत्) सुरु हुन्छ।
कात्तिक ६ गते बिहीबार भाइटीका परेको छ। समितिका सदस्य लक्ष्मण पन्थीका अनुसार भाइटीकाको शुभ साइत बिहान ११ः३९ बजे रहेको छ। टीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र दाजुभाइ पश्चिमतर्फ फर्केर बस्नुपर्ने परम्परा छ। सर्वसाधारणका लागि भने दिनभर टीका लगाउन सकिने समितिले जनाएको छ।
तिहारको बेला देशभर उज्यालो र रमाइलो वातावरण छाउने गर्छ। राजधानीलगायत प्रमुख सहरहरूमा दीपावली र बत्तीको सजावटले झिलीमिली भएको छ। कोजाग्रत पूर्णिमादेखि नै दीपावली सुरु गर्ने चलन शहरी क्षेत्रमा झन् बढ्दो छ।
दसैँमा सुनसान हुने काठमाडौं उपत्यका तिहारमा भैलो र देउसी खेलले उत्सवमय बन्छ। कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा कोजाग्रत पूर्णिमादेखि नै देउसी–भैलो सुरु गर्ने परम्परा पनि छ।
यस अवसरमा कतिपयले कौडा, लंगुरबुर्जा र तासजस्ता खेल खेल्ने चलन छ। नेपाल प्रहरीले भने पटाका नपड्काई सभ्य र सुरक्षित रूपमा पर्व मनाउन आह्वान गरेको छ।