शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले बैठकमा ओलीको पक्ष बलियो 

शुक्रबार, असोज ३१ २०८२

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व यथावत् राखिनुपर्ने धारणा बहुमतले राखेका छन्। देशमा देखिएको राजनीतिक अनिश्चितता र संकटका बीच अहिले नेतृत्व परिवर्तन उपयुक्त नहुने उनीहरूको भनाइ रहेको छ।

बुधबारदेखि सुरु भएको बैठकमा बिहीबारसम्म अधिकांश केन्द्रीय सदस्यहरूले ओलीको समर्थनमा बोलेका छन्। केही सदस्यहरूले भने ओलीले राजीनामा दिएर नयाँ नेतृत्वलाई मार्ग प्रशस्त गर्नुपर्ने तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा पुनः स्वागत गर्नुपर्ने सुझाव दिएका छन्।

बैठकमा बोल्ने क्रममा ‘ज्ञ’ बाट सुरु भएको क्रम बिहीबारसम्म ‘न’ मा पुगेको छ भने १३ जना केन्द्रीय सदस्य अनुपस्थित छन्।

स्रोतका अनुसार, भगवती क्षेत्री थापा, बालसिंह काउछा, नारायण सिलवाललगायतका नेताहरूले महाधिवेशनबाटै निकास खोज्नुपर्ने बताएका छन्, जबकि रूख्मणि राना, राजीव पहारी, रवीन्द्र अधिकारी, मीना उप्रेती, माधव ढुंगेललगायत धेरै नेताहरूले ओलीको पक्षमा खुलेर समर्थन जनाएका छन्।

अर्कोतर्फ, सोम मिश्र, सरिता न्यौपाने, ममता गिरी, नरदेवी पुन, दीपा शर्मा लगायतका नेताहरूले तत्काल नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखेका छन्।

बैठकमा बोल्नेहरूलाई तीन मिनेट समय दिइएको छ भने आफ्नो लिखित धारणा बुझाउने व्यवस्था पनि मिलाइएको छ।

विद्याको सदस्यता नरोक्न दबाब

बैठकमा यसपटक धेरै नेताहरूले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नरोक्नुपर्ने र पार्टीमा पुनः सक्रिय बनाउनुपर्ने सुझाव दिएका छन्। केही नेताहरूले अध्यक्ष ओलीलाई राजीनामा दिएर अभिभावकको भूमिकामा बस्नुपर्ने सिफारिससमेत गरेका छन्।

‘जेन–जी’ आन्दोलनपछि एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ। यसअघि ओली निवास गुण्डुमा बसेको सचिवालय बैठकमा पनि केही सदस्यहरूले नेतृत्व हस्तान्तरणको प्रस्ताव राखेका थिए।

तर, केन्द्रीय कमिटीमा अझै पनि ओलीको पक्षमै स्पष्ट बहुमत रहेको छ। ओलीले भने फेसबुक अभियानले आफूलाई राजीनामा गराउन नसक्ने भन्दै महाधिवेशनबाटै सबै प्रश्नको निर्णय गर्ने बताइसक्नुभएको छ।

एमालेले महाधिवेशन मिति मंसिर २७ देखि २९ गतेसम्मका लागि तोकेको छ। बैठक बिहीबारसम्म निरन्तर चल्नेछ।