काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले विशेष महाधिवेशनको मागसहित आवश्यक संख्या पूरा गरी हस्ताक्षर ल्याए आफू अध्यक्ष पदबाट राजीनामा गर्न तयार रहेको बताएका छन् ।
बुधवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि निर्णय सार्वजनिक गर्ने क्रममा लिङदेनले पार्टीभित्रका असन्तुष्ट पक्षलाई चुनौती दिँदै भने,“४६ सय महाधिवेशन प्रतिनिधिमध्ये २५ प्रतिशत अर्थात् झन्डै १३ सय जनाले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरे भने म तत्काल पद छाड्न तयार छु।”
“पार्टीमा अध्यक्ष हटाउने वैधानिक प्रक्रिया विशेष महाधिवेशन हो । त्यसका लागि २५ प्रतिशत प्रतिनिधिको हस्ताक्षर चाहिन्छ । त्यस्तो माग आयो भने म महाधिवेशन बोलाउँछु र अध्यक्षको जिम्मा पनि अरूलाई हस्तान्तरण गर्छु।” उनले भने ।
लिङदेनले केही व्यक्तिको व्यक्तिगत असन्तुष्टिका कारण पार्टी नेतृत्व छोड्न नसकिने पनि बताए । उनका अनुसार, “केही व्यक्तिलाई मन नपरेको भरमा अध्यक्षले पद छोड्ने चलन पार्टीमा बस्दैन।”
हाल राप्रपाका महामन्त्री धवलशमशेर जबरा र कुन्ती शाहीले लिङदेनको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन् । लिङदेनले उनीहरूलाई वैधानिक प्रक्रिया मार्फत २५ प्रतिशत हस्ताक्षर जुटाउन चुनौती दिएका हुन् ।