शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमाले केन्द्रीय कमिटी बैठक : आज पनि सदस्यहरूले अध्यक्ष ओलीको प्रस्तावमाथि धारणा राख्नेक्रम जारी

बिहिबार, असोज ३० २०८२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक आज दोस्रो दिन पनि जारी छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत विशेष प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले क्रमशः आफ्नो धारणा राख्नेक्रम जारी रहेको पार्टीले जनाएको छ ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बुधबारको बैठकमा करिब ५० जना केन्द्रीय सदस्यले आफ्नो विचार प्रस्तुत गरेका थिए । उनका अनुसार, बिहीबार करिब १०० जना सदस्यले बोल्ने अनुमान गरिएको छ । सबै सदस्यले धारणा राखेमा बैठक केही दिन लम्बिन सक्ने सम्भावना रहेको बताइएको छ ।

बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेटको समय तोकिएको छ । तोकिएको समयमा विचार नसक्ने सदस्यको माइक स्वचालित रूपमा बन्द हुने व्यवस्था गरिएको गौतमले जानकारी दिए । उनका अनुसार, सदस्यहरूलाई वर्णानुक्रमका आधारमा बोल्ने क्रम मिलाइएको छ ।

अध्यक्ष ओलीले बुधबारको बैठकमा मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औँ महाधिवेशन आयोजना गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । केन्द्रीय सदस्यहरूको धारणा सुनेपछि पदाधिकारीहरूले पनि आफ्ना विचार राख्ने कार्यक्रम रहेको छ । बैठकको अन्त्यमा अध्यक्ष ओलीले सदस्यहरूले उठाएका सुझाव र जिज्ञासामाथि समग्र जवाफ दिने तयारी गरेको पार्टी स्रोतले जनाएको छ ।