काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का नेता माधवकुमार नेपालसहित पार्टी परित्याग गरेका नेताहरूलाइ एमालेमै फर्किन आह्वान गरेका छन् ।
ललितपुरमा बुधबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै, ओलीले विगतमा विभिन्न कारणले पार्टी छोडेका नेताहरूलाई अब पुनः “मूल घर फर्किने उपयुक्त समय आएको” बताए ।
उनले भने, “हिजो घर छोडेर जानु भएका साथीहरूलाई म हार्दिक आग्रह गर्न चाहन्छु — घर फर्किनुस्। तपाईंहरूले पनि यो पार्टी निर्माणमा योगदान दिनुभएको छ। अब अन्यत्र अल्झिनु पर्ने समय होइन।”
ओलीले समाजवादी नेताहरूलाई लक्षित गर्दै भने, “आज समाजवादी पार्टीका नेताहरू छहारी खोज्दै कसको पिँढीमा बास बसौँ भनेर झोली–तुम्बा बोकेर बसिरहेका छन्। तपाईंहरू आफैंले बनाएको पार्टी यहाँ छ, चौतारी खोज्न नजानुस्, कसैका बलेँसीबाट भित्र छिरेर ओत खोज्न नजानुस्।”
उनले एमालेलाई सुदृढ र बलियो संगठन भएको पार्टीका रूपमा वर्णन गर्दै भने, “अहिले पनि एमाले साढे ६ लाख सदस्य र २३ वटा महासंघ भएको पार्टी हो। यसलाई कसैले डगमगाउन सक्दैन।”
अध्यक्ष ओलीले पार्टीभित्र सुदृढ एकता र सहकार्यको आवश्यकता रहेको उल्लेख गर्दै भने, “अफ्ठ्यारो र असहज परिस्थितिमा पनि सबै मिलेर काम गर्नुपर्छ।”