काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटनबारे राजनीतिक दलहरूसँग छलफल सुरु गरेका छन्।
बुधबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा निःवर्तमान राजनीतिक दलका प्रमुख सचेतकहरू सहभागी छन्।
जेन–जी आन्दोलनपछिको प्रतिनिधि सभा विघटन संसद पुनःस्थापनाको मागसहित अदालत जाने तयारीमा सभामुख घिमिरे रहेको बताइएको छ। विघटनको निर्णय संविधान विपरीत रहेको नेकपा एमाले र नेपाली कांग्रेससहित अन्य दलहरूले पनि औपचारिक रूपमा बताएका छन्।
यस्तो अवस्थामा सभामुखले विघटन हुनुपूर्वको प्रतिनिधि सभामा सहभागी राजनीतिक दलका प्रमुख सचेतकसँग पार्टीको धारणा माग्न बैठक राखेका हुन् ।
बैठकमा नेकपा एमाले, नेपाली काँग्रस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल लगायतका राजनीतिक दलहरु रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि भने सहभागी छैनन् ।