काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी र फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाइ प्रक्रिया पुनः सुरु भएको छ ।
सर्वोच्चले मंगलबारदेखि सबै न्यायिक सेवा सञ्चालनमा ल्याएको हो । रिट दर्ता पुनः सुरु भएपछि पहिलो दिन नै प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर भएको सर्वोच्च स्रोतले जनाएको छ ।
मंगलबार बिहान दर्ता गरिएको उक्त रिटमा भदौ २७ गते गठन भएको अन्तरिम सरकार र सोही रात राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध प्रश्न उठाइएको छ । अन्तरिम सरकार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन गरिएको थियो ।
जेन–जी प्रदर्शनका क्रममा भदौ २४ गते सर्वोच्च अदालतमा आगजनी भएपछि नयाँ मुद्दा दर्ता रोकिएको थियो । आगजनीका कारण अदालतको संरचना र मिसिलहरू क्षतिग्रस्त भएपछि सर्वोच्चको नियमित कामकाज पूर्ण रूपमा प्रभावित बनेको थियो ।